नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक निरन्तर घट्दै गएपछि नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । कम्पनीका हरेक पक्षबारे जानकारी लिएर र धितोपत्र बजारको अवस्था अध्ययन गरेर मात्र लगानीको निर्णय गर्न उसले लगानीकर्तालाई सुझाव दिएको छ ।
बजारमा चल्ने हल्ला र आधारहीन अनुमानका आधारमा धितोपत्र खरिद–बिक्री नगर्न बोर्डले आग्रहसमेत गरेको छ । अल्पकालका लागि धितोपत्र बिक्री गर्नेहरूको बढ्दो संख्या देखेर हतोत्साही भई निर्णय लिँदा जोखिम न्यूनीकरण हुनुको साटो अझै बढ्ने बोर्डको ठहर छ ।
धितोपत्र बजारको विकास र विस्तारका लागि नेपाल सरकार, बोर्ड तथा नेप्सेले संयुक्त प्रयास गरिरहेको बोर्डले बताएको छ । धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको प्रवेश गराउन म्युचुअल फन्डसम्बन्धी नियमावली २०६७ स्वीकृत भइसकेको जानकारी पनि उसले दिएको छ । यससँगै कम्पनीहरूलाई बजार प्रवेशको बाटो खुला भएको र लगानीकर्ताले फन्डमार्फत दक्ष लगानी सेवा प्राप्त गर्ने अवसरसमेत पाउने बोर्डको दाबी छ ।
>धितोपत्रसम्बन्धी सम्पूर्ण काम कारबाही विद्युतीय प्रणालीबाट सम्पादन गर्न केन्द्रीय निक्षेप कम्पनी स्थापना गर्ने कार्य पनि सुरु भइसकेको बोर्डले बताएको छ । यस्तो कम्पनी नियमनका लागि आवश्यक पर्ने धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी उसले दिएको छ । “कम्पनी स्थापना तथा सञ्चालनका लागि नेप्सेले भारतको केन्द्रीय निक्षेप प्रणालीसँग आवश्यक समन्वय गरी काम अगाडि बढाएको छ,” बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।बोर्डका अनुसार विश्व बैंकको सहयोगमा अन्तर्राष्ट्रिय विज्ञबाट पुँजी बजार विकाससम्बन्धी गुरुयोजना तर्जुमा गर्ने काम आगामी कात्तिकदेखि सुरु हुने भएको छ ।
(news source: karobar daily)
1 comment:
This Information is really good and informative. Thanks for it.
Check below links and get useful information.
Mazagon Dock Shipbuilders IPO
Post a Comment