नेपाल धितोपत्र बोर्डले सोमबारदेखि ‘सामूहिक लगानीकोष नियमावली, २०६७’ लागू गरेको छ । बोर्ड अध्यक्ष डा. सुरवीर पौडेलले लागु नियमावलीले घट्दै गएको धितोपत्र बजारमा सुधार ल्याउने र हतोत्साही लगानीकर्ताको मानोविज्ञान उकास्ने दाबी गरे । “बजारको भविष्य उज्ज्वल भएको हुनाले लगानीकर्ता हतोत्साही हुनुपर्ने अवस्था छैन,” उनले भने ।
संस्थागत लगानीकर्ता भित्र्याउन विधिवत् व्यवस्था भएपछि बजारको विकास हुने तथा विदेशी लगानीकर्तालाई पनि भित्र्याउन सकिने पौडेलले बताए ।
सामूहिक लगानीकोष सञ्चालनमा कोष प्रवद्र्धक, सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहने व्यवस्था नियमावलीले गरेको छ । यसअनुसार कोष प्रवद्र्धकले कोष स्थापना गर्दछ भने कोषले सुपरिवेक्षक नियुक्ति गर्छ । नियमावलीबमोजिम कोष स्थापनाका लागि प्रवद्र्धक वित्तीय कारोबार गर्ने संस्था हुनुपर्छ, जसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्छ । त्यस्तै, उद्देश्यअनुसार व्यवसाय सञ्चालन गरेको पाँच वर्ष पूरा गरेको तथा पछिल्लो तीन वर्ष लगातार नाफामा गएको हुनुपर्छ । कोषमा चुक्ता पुँजीभन्दा नेटवर्थ थोरै नभएको तथा नियमन निकायले कालोसूचीमा नराखेको लगायतका सर्त निमायवलीले राखेको छ ।
कानुनको अधीनमा रही कुनै योजनाको कुल रकमको २५ प्रतिशतसम्म विदेशी धितोपत्र बजारमा लगानी गर्नसक्ने व्यवस्था पनि नियमावलीले गरेको छ । सरकारको स्वीकृतिअनुसार सम्झौता गरेको धितोपत्र बजारमा मात्रै लगानी गर्न पाइनेछ ।
सामूहिक लगानी कोषको सम्पत्ति दक्ष तथा विश्वसनीयरुपमा व्यवस्थापन तथा लगानी गर्न चुक्ता पुँजी १० करोड रुपैयाँ भएको योजना व्यवस्थापक हुनुपर्ने व्यवस्था गरिएको छ । योजना व्यवस्थापकको चुक्ता पुँजीको ५१ प्रतिशत स्वामित्व कोष प्रवद्र्धकको रहेको हुनुपर्नेछ । त्यस्तै, उसको चुक्ता पुँजीको ७५ प्रतिशत नेटवर्थ अनिवार्य गरिएको छ ।
योजना व्यावस्थापकले बोर्डबाट स्वीकृति लिएर सार्वजनिक निष्कासन गरी एकभन्दा बढी योजना सञ्चालन गर्न सक्नेछ । त्यस्ता, योजनाले कुनै कम्पनीको साधारण सेयरमा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत तथा डिबेन्चर र अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछ ।
बैंकको निक्षेपमा लगानी गर्दा योजनाको कुल सम्पत्तिको १० प्रतिशतमात्र लगानी गर्नसक्ने व्यवस्था छ । सार्वजनिक निष्कासन गर्ने कुनै पनि कम्पनीले निष्कासन गर्ने धितोपत्रको पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याउनुपर्ने नियमावलीमा उल्लेख छ । त्यसरी छुट्याएको धितोपत्र खरिदका लागि कोषलाई सूचना दिनुपर्छ ।
धितोपत्र खरिद गर्न एकभन्दा बढी कोषबाट आवेदन दिएमा मागका आधारमा समानुपातिक हिसाबले बाँडफाँट गर्नुपर्छ । तर, कोषलाई यसरी छुट्याइएको धितोपत्र खरिद नभएमा सर्वसाधारणमा निष्कासन गर्न लागेको धितोपत्रमा समावेश गरी सार्वजनिकसरह निष्कासन गर्नुपर्छ ।
(news source:karobar daily)
No comments:
Post a Comment