प्रधानमन्त्री माधवकुमार नेपालले वित्तीय संस्थाले मुलुकको पुँजी परिचालन गरी आर्थिक अवसर बढाउन भूमिका खेल्नुपर्ने बताएका छन् । सोमबार कमर्ज एन्ड ट्रस्ट बैंकको उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता र खिचातानीबाट अर्थतन्त्र कमजोर भएको पनि बताए ।
सेवा र सुविधाहरू सहरमुखी तथा निश्चित वर्गको मात्र पहुँचमा रहेको बताउँदै प्रधानमन्त्री नेपालले वाणिज्य बैंकहरू पनि यो रोगबाट पूर्णरुपमा अछुतो नभएको बताए । वाणिज्य बैंकहरू सानोसानो लगानी गर्न हिच्किचाउने गरेको भन्दै उनले ग्रामीण क्षेत्रका आवश्यकतालाई सम्बोधन नगरी मुलुकको आर्थिक रुपान्तरण सम्भव नहुने उल्लेख गरे ।
मुलुकको आर्थिक उन्नति नभई बैंक र वित्तीय संस्थाहरू फस्टाउन नसक्ने उनको भनाइ थियो । “गाउँमा रहेको निष्क्रिय पुँजी, स्रोत र साधन परिचालनमा सघाई ग्रामीण अर्थतन्त्र र ग्रामीण जीवनस्तर सुधार गरेमात्र बैंकिङ क्षेत्रको स्वस्थ विकास सम्भव छ,” उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले प्रतिस्पर्धी भएर आउन आग्रह गर्दै बैंकलाई नयाँ योजना लिएर बजारमा जान सल्लाह दिए । मर्जर प्रक्रियाको आवश्यकता रहेको बताउँदै उनले भने, “थोरै पैसा भएका खाता पैसा घटाउँदै लगेर बन्द गर्ने क्रम नहोस् ।”
बायोग्यासमा लगानी गर्ने प्राथमिक उद्देश्यका साथ केही दिनअघिदेखि कारोबार सुरु गरेको कमर्ज एन्ड ट्रस्ट नेपालको २९ औं वाणिज्य बैंक हो । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । गरिबी न्युनीकरणमा सहयोग पु¥याउने, आयआर्जन र रोजगारी बढाउने, लोडसेडिङ समस्यालाई न्यूनीकरण गर्ने, ग्रामीण तथा सहरी क्षेत्रमा सौर्यऊर्जा र बायोग्यास प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत अनल भट्टराईले जानकारी दिए । यसका लागि बैंकले विन रक इन्टरनेसनलसँग सहकार्यको सम्झौता गरिसकेको जानकारी उनले दिए ।
बैंकको जारी पुँजी २ अर्बमध्ये ७० प्रतिशत संस्थापक समूहको लगानी छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । संस्थापक लगानीमध्ये करिब ८ प्रतिशत गैरआवासीय नेपालीको हिस्सा छ । बैंकमा ३ सय ६० जना संस्थापक सदस्य छन् । आर्थिक क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको रुपमा रहेको सार्वजनिक–निजी साझेदारीअनुरुप घरेलु उद्योग, साना तथा मझौला जलविद्युत् परियोजना, कृषि, व्यापारलगायतका क्षेत्रमा पनि लगानी गर्ने उद्देश्य लिइएको भट्टराईले बताए ।
ग्रामीण बैंकिङ कार्यक्रमलाई नाफामा मात्र नहेरी सेवाको भावनाले सञ्चालन गर्ने योजना लिएका छौं,” उनले भने । ग्राहकहरूलाई बिमासम्बन्धी सेवा दिन अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरिने जानकारी उनले दिए ।
(News source: karobardaily.com)
No comments:
Post a Comment