पूर्णिमा विकास बैंकले तेस्रो शाखा रुपन्देहीको शंकरनगरमा खोली कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका व्यवस्थापक डा. विष्णुप्रसाद गौतमले बिहीबार गरेका हुन् । समारोहमा बोल्दै गौतमले बैंकहरू सहरकेन्द्रित भएकाले देशको कुल जनसंख्याको दुईतिहाइले अझै पनि बैंकिङ सेवा पाउन नसकेको बताए ।
बैकले नयाँ बचत योजना श्रमजीवी बचत खाता सञ्चालनमा ल्याएको छ । न्यून आय भएका मजदुर र कामदार वर्गलाई लक्षित गरी ल्याइएको यो योजनामा १ सय रुपैयाँमा खाता खोल्न सकिन्छ । दैनिक मौज्दातमा वार्षिक ९ प्रतिशत ब्याज दिइने र निःशुल्क एटीएम कार्ड तथा अन्तरबैंकिङ सेवा प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत सुरेश ज्ञवालीले जानकारी दिए ।
शाखा सुरु गरेको अवसरमा १५ दिनका लागि जुनसुकै मुद्दती खाताका निक्षेपकर्तालाई ०.५ प्रतिशत अतिरिक्त ब्याज प्रदान गरिने बैंकले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगरमा प्रधान कार्यालय रहेको बैंकले परासी र रुपन्देहीको भलबारीमा दुई शाखा सञ्चालनमा ल्याइसकेको छ । बैंकको चुक्ता पुँजी ७ करोड छ ।
(News source:karobardaily.com)
No comments:
Post a Comment