सुदर्शन सापकोटा, काठमाडौं, भदौ २१- स्ट्यान्डर्ड फाइनान्स कम्पनीका सञ्चालक समिति अध्यक्ष योगेश्वरलाल श्रेष्ठको ६ करोड १० लाख रुपैयाँको संस्थापक सेयर गैरआवासीय नेपाली उपेन्द्र महतोको समूहले खरिद गरेको छ।
फाइनान्स वाणिज्य बैंकका लागि सञ्चालन अनुमति पर्खिएर बसेको कम्पनी हो।
गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष महतोको समूहले फाइनान्सका अध्यक्षसँग रहेको ६ प्रतिशत सेयर खरिद गरेको हो। खरिपछि कम्पनीमा समूहको सेयर हिस्सा ३४ प्रतिशत पुगेको छ। यसअघि २८ प्रतिशत थियो।
कम्पनी स्थापनादेखि यसको सञ्चालक समितिमा समूहबाट कसैले पनि प्रतिनिधित्व गरेका छैनन्। सोझै अध्यक्षको सेयर लिएर सञ्चालक समितिमा प्रवेश गर्न लागेको समूहका तर्फबाट उपेन्द्रका भाइ वीरेन्द्रले प्रतिनिधित्व गर्दैछन्।
वाणिज्य बैंकमा जान पक्रिया सुरु भएपछि महतो समूह र श्रेष्ठबीच विवाद बढेको थियो। महतो पक्षले कम्पनीमा २८ प्रतिशत हिस्सा भएकाले वाणिज्य बैंक बन्नुअघि नै सञ्चालक समितिमा आउने बताएपछि श्रेष्ठले असहमति जनाएका थिए। महतो पक्षले कम्पनीमा आफ्नो नाम जोडिएका कारण व्यवस्थापन राम्रो बनाउन पनि सञ्चालकमा आउनुपर्ने माग गरेको थियो।
श्रेष्ठले यो प्रस्तावलाई नमानेपछि समूहले आफ्नो सबै सेयर किनेर कम्पनीबाट मुक्त गर्न अर्को प्रस्ताव अगाडि सार्‍यो। यो प्रस्ताव पनि श्रेष्ठले अस्वीकार गरेपछि महतो पक्षले सेयर बिक्री गर्ने प्रस्ताव गरेअनुसार श्रेष्ठले सबै सेयर बिक्री गरी फाइनान्स कम्पनीबाट अलग्गिएका हुन्।
कम्पनीमा केही समयदेखि सञ्चालक र व्यवस्थापनबीच विवाद थियो। विवाद मिलाउन राष्ट्र बैंकले दुवै पक्ष बोलाएर छलफल गरेको थियो। ‘सञ्चालक समितिले व्यवस्थापनलाई हरेक कारोबारमा हस्तक्षेप गरेको देखिएका कारण छलफल गर्न बोलाएका थियौं,’ राष्ट्र बैंक उच्च स्रोतले नागरिकसँग भन्यो।
जथाभावी कर्जा प्रवाह भएर कम्पनीको साख गिर्न थालेको भन्दै महतो समूहले आफै कम्पनी सञ्चालन गर्न अध्यक्षको सेयर खरिद गरेको फाइनान्स स्रोत जानकारी दियो। उनका अनुसार, कर्जा प्रवाहमा अनियमितता देखिएकाले नयाँ समूहले सेयर किनेको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनमा सञ्चालक समिति प्रवेश गरेको एक वर्षपछि मात्र सेयर बिक्री गर्न पाइने व्यवस्था भएका कारण श्रेष्ठले सम्झौता गरेर सेयर बिक्री गरेका हुन्।
सेयर बिक्रीपछि सञ्चालक समिति अध्यक्ष श्रेष्ठले गत शुक्रबार राजीनामा दिएका थिए। कम्पनीमा उनको ६ लाख १० हजार कित्ता सेयर थियो। गत आर्थिक वर्ष ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ। कम्पनीले चुक्ता पुँजी २ अर्ब पुर्‍याउन थप १ अर्ब रुपैयाँबराबरको हकप्रद सेयर निश्कासन गर्ने प्रक्रिया थालिसकेको छ।
कम्पनीले गत वर्ष १ अर्ब ९१ करोड निक्षेप संकलन गरेको थियो। यसअघि निक्षेप ८७ करोड मात्र थियो। कर्जा पनि ८९ करोडबाट बढाएर २ अर्ब ८ करोड रुपैयाँ पुर्‍याएको छ। कम्पनीको सम्भावित नोक्सानी व्यवस्था भने केही बढेको छ। १ करोड १६ लाख रहेको नोक्सानी व्यवस्थाको रकम गत आवमा १ करोड ५५ लाख रुपैयाँ पुगेको थियो।
(News source:www.nagariknews.com)